मन्त्रीपरिषद्को निर्णयबारे जानकारी दिनुहुँदै प्रवक्ता श्रेष्ठ । फाइल तस्वीर ।

हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेश सभाको बैठक जेठ ९ गते दिनको १ बजेका लागि आव्हान गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक जेठ ९ गते दिनको १ बजे आव्हान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयक मस्यौदा तयारीको सिद्धान्त स्वीकृति दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारलाई प्रदेशको कामकाजी भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई कार्यान्वयन गर्न दवाव दिँदै आएको छ । यस्तै आइतबारको मन्त्रिपरिषद् बैठकले दोलखा जिल्लाको जिरी नगरपालिका–५ मा प्रदेश गौरवको आयोजनाको रुपमा निर्माण गरिने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । मानवनिर्मित तालका लागि ७ सय ७५ रोपनी जमिन अधिग्रहण गर्नुपर्ने बताइएको छ ।