सांकेतिक तस्विर ।

हेटौंडाः विभिन्न मितिमा मकवानपुर जिल्ला अदालतबाट फैसलाअनुसार दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला अदालतमा पेश गरी कैद तथा जरिवानावापतको सजाय भुक्तानका लागि प्रहरीले भीमफेदी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मकवानपुर जिल्ला अदालतको २०७७ साल माघ १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दाका दोषी ठहर भई फरार रहेका मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ का विष्णु बहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीलाई २ दिन कैद र चार लाख रुपैयाँ जरिवाना हुने फैसला गरिएको थियो । सामुदायिक वनको रुख कटानसम्बन्धी मुद्दामा जिल्ला अदालतको २०६५ साल असार २३ गतेको फैसलाअनुसार एक बर्ष कैद सजाय सुनाइएका मकवानपुर जिल्लाको साविक वेतिनी गाविस–५ का सञ्च लामालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७६ साल माघ १३ गतेको फैसलाले सवारी ज्यान र अंगभंगसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका मकवानपुरको भीमफेदी गाउँपालिका–७, मेलटारका कुमार बललाई पक्राउ गरेको हो । बललाई १ वर्ष ११ महिना कैद सजाय सुनाइएको थियो । यस्तै जिल्ला अदालतको २०७९ जेठ २० गतेको फैसलाले लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका हेटौंडा–१४, कालापानीका विजय रुम्बालाई प्रहरीले पक्राउ गरेको छ । रुम्बालाई १ महिना २५ दिन कैद सजाय तोकिएको थियो ।