हेटौंडाः सिन्धुपाल्चोक र काभ्रेमा दुई बालिका र सिन्धुलीमा एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्लाको जिरी नगरपालिका–४, रातमाटेमा बिहीबार ६ बर्षीया मुना थापाको मृत्यु भएको छ । घरमै रहेको स्ट्रबेरी र जंगलबाट टिपेर ल्याएको ऐँसेलु खाएर बिरामी भई उपचारार्थ जिरी अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै काभ्रे जिल्लाको बनेपा नगरपालिका–१, रायगाउँमा २ बर्षीया बालिकाको लडेर मृत्यु भएको छ । आफ्नै घरको आँगनको डिलबाट लडेर घाईते भएकी २ बर्षीया सुस्मिता बिसुङ्खेको उपचारको क्रममा शिरमेमोरियल अस्पतालमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५, मुल्कोटमा एक युवकको मृत्यु भएको छ । दाङ जिल्लाको गोडवा गाउँपालिका–६ घर भई सिन्धुलीको मुल्कोटस्थित क्वालिटी रिसोर्टमा बेकरीको काम गर्ने २३ बर्षीय कमल चौधरीको बिहीबार राती १ बजेको समयमा मृत्यु भएको हो ।











