हेटौंडाः हेटौंडा–५ मा रहेको ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा विभिन्न विधाबाट योगदान पुर्याएको भन्दै ६ जनालाई सम्मानित गरिएको हो ।
सहकारी संस्थाका निवर्तमान अध्यक्ष केशवबहादुर श्रेष्ठलाई ११ हजार एक सय १ रुपैयाँ राशिसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको छ । यसैगरी पूर्वप्रिन्सिपल भोलाप्रसाद शिवाकोटीलाई पनि ११ हजार एक सय १ रुपैयाँ राशिसहित सम्मानपत्रले सम्मानित गरिएको छ । ज्ञानदीप हास्यव्यङ्ग्य सम्मानबाट सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछानेलाई १० हजार १ रुपैयाँ राशिसहित सम्मानपत्रले सम्मानित गरिएको छ । मकवानपुरका पत्रकार राजन दाहाललाई ज्ञानदीप पत्रकारिता सम्मानबाट ५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित सम्मानपत्रले सम्मानित गरिएको छ । यस्तै, ज्ञानदीप कृति प्रकाशन सम्मानबाट समर्पण न्यौपाने र आदर्श पौडेललाई २०÷२० हजार रुपैयाँ राशिसहित सम्मानपत्रले सम्मानित गरिएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष जिधराज ढकालको सभाध्यक्ष तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा साधारणसभा आयोजना गरिएको हो । विद्यालयको प्रगति प्रतिवेदन प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेले प्रस्तुत गर्नुभयो । कोषाध्यक्षको प्रतिवेदन मोहनप्रसाद न्यौपानेले, सञ्चालक समितिको प्रतिवेदन अध्यक्ष ढकालले र लेखा समितिको प्रतिवेदन राज अर्यालले प्रस्तुत गर्नुभयो । सहकारी संस्थाको सञ्चालक समिति चयनका लागि आगामी बैशाख २९ गते उम्मेदवारी मनोनयन हुनेछ भने ३० गते निर्वाचन गरिने विद्यालयका शिक्षक दीपक गौतमले जानकारी दिनुभयो ।