चोरीमा संलग्न अभियुक्तलाई सार्वजनिक गर्दै मकवानपुर प्रहरी ।

हेटौंडाः चोरी भएको सामानसहित एकजनालाई मकवानपुर प्रहरीले बुधबार पक्राउ गरेको छ । चोरी भएको मोवाइल रिचार्ज कार्ड, चुरोट, मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवल लगायतका सामानसहित बकैया गाउँपालिका–५, भनौराबाट स्थानीय १९ वर्षीय दिपेश देउजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको चोरी भएका सामानहरु ।

गत बैशाख २६ गते राती मकवानपुर जिल्लाको बकैया गाउँपालिका–४, जुरेलीस्थित होमनाथ फुयाँलको फुयाँल किराना पसलमा चोरी भएको थियो । १२ लाख १० हजार रुपैयाँ बराबरको सामान चोरी भएको भनी प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । मकवानपुरको बकैया गाउँपालिकास्थित प्रहरी चौकी हात्तिसुढेबाट प्रहरी सहायक निरीक्षक कृष्णराज गौतमको कमाण्डमा खटिएको टोलीले देउजालाई चोरी भएको सामानसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको छ ।

चोरी तथा डाँका सम्बन्धी अभियोग पुष्टि भए ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।