सेवाग्राही प्रतिक्षालयमा पुस्तक पढ्नुहुँदै एक सेवाग्राही ।

हेटौंडाः बजारका सुकिला पसल, आकर्षक विक्री केन्द्रहरु वस्तु र सेवाको खरिद–विक्री गरेर घाटा–नाफाको हिसाब गर्ने थलो मात्रै होइन । आफ्नो कर्मथलोलाई आर्थिक लाभहानीको हिसाब गर्ने थलो मात्रै नभई जनहित र जनसेवामा पनि समर्पित गर्न सकिन्छ भन्ने उदाहरण बन्ने गरी हेटौंडा–४, मेनरोडस्थित राज मोटर्स प्रालिले आफ्ना सेवाग्राहीलाई पुस्तक पढ्ने सुविधा उपलब्ध गराएको छ ।

मोटरसाइकल मर्मत तथा सर्भिसिङ गराउन आउने सेवाग्राहीलाई मोटरसाइकल मर्मत भइरहँदा, सर्भिसिङ भइरहँदाको खाली समयमा अध्ययन गर्न, ज्ञान आर्जन गर्नका लागि राज मोटर्सले शान्त बस्ने स्थानमा आकर्षक पुस्तक र्याकसहित बस्ने व्यवस्था मिलाएको छ । मोटरसाइकल मर्मत तथा सर्भिसिङ भइरहँदा करिब १ घण्टाको समय सेवाग्राहीले आफूलाई अध्ययनमा व्यस्त गराउन सक्छन् । दैनिक ४० देखि ५० जना सेवाग्राही मोटरसाइकल सर्भिसिङकै लागि आउने गरेको र ती मध्ये आधा सेवाग्राही पर्खिएर मोटरसाइकल सर्भिसिङ गराएर फर्कने गरेको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।

सेवाग्राही प्रतिक्षालयमा पुस्तक पढ्नुहुँदै एक सेवाग्राही ।

यसरी करिब एक घण्टाको खाली समयमा यसअघि टिभि हेर्ने, पत्रपत्रिका पढ्ने, फ्रि वाइफाइको सुविधा उपयोग गर्ने गरेका सेवाग्राहीलाई नयाँ र ज्ञान आर्जन गर्ने अवसरको रुपमा रहने भएकोले पुस्तक उपलब्ध गराएको श्रेष्ठ बताउनुहुन्छ । “सवै सेवाग्राहीका लागि पुस्तक रुचिकर नहुन सक्छ तर पुस्तकप्रति रुचि हुने सेवाग्राहीलाई एक घण्टाको समयमा केही अध्ययन गर्ने अवसर रहोस् भनेर पुस्तक राखिदिएको हो”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “अहिले करिब ५० वटा पुस्तक विविध विषयको राखेका छौं । पुस्तकहरु आवधिक रुपमा थप्दै लैजान्छौं ।”

पछिल्लो समय हेटौंडामा पठन संस्कृतिको विकास हुँदै गएकोले पनि पुस्तक उपयुक्त हुने ठानेर सेवाग्राही प्रतिक्षालयमा पुस्तक राखिएको उहाँको भनाइ छ । व्यावसायिक क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा समेत लिन सकिने यस किसिमको कामलाई सवैले प्रोत्साहन गर्न सके पठन संस्कृतिको विकास हुने र सभ्य समाज निर्माणमा योगदान पुग्ने बताउनुहुँदै श्रेष्ठले अन्य व्यवसायीलाई पनि आफ्ना सेवाग्राहीलाई पढ्ने अवसर सिर्जना गर्न आव्हान गर्नुहुन्छ ।