शैक्षिक प्रदर्शनीमा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा विद्यार्थीले शैक्षिक सामग्री प्रदर्शनी तथा खाना महोत्सव आयोजना गरेको छ । शैक्षिक सत्रको सुरुवात भए लगत्तै विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा केन्द्रित गर्न प्रदर्शनी तथा खाना महोत्सवको आयोजना गरिएको प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभएको छ ।

शैक्षिक प्रदर्शनी तथा खाना महोत्सवको वडा अध्यक्ष नवीन सिग्देलले अवलोकन गर्नुभएको थियो । शैक्षिक सामग्री प्रदर्शनीको अवलोकनपछि वडा अध्यक्ष सिग्देलले विद्यालय शिक्षाको सुधारका लागि वडा कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष सिग्देलले विद्यालयका शिक्षक, कर्मचारीलाई बालबालिकालाई उचित शिक्षा दिन क्रियाशील रहन आग्रह पनि गर्नुभएको छ ।

खाना महोत्सवमा खानेकुरा बनाउँदै विद्यार्थी ।

नगरको शैक्षिक क्यालेण्डर अनुसार विद्यालयले शैक्षिक प्रदर्शनीसँगै खाना महोत्सवको आयोजना गरिएको प्रधानाध्यापक दाहालले बताउनुभयो । शैक्षिक प्रदर्शनीमा ४ कक्षादेखि १० कक्षासम्मका विद्यार्थी सहभागी थिए भने खाना महोत्सव कक्षा ९ र १० का विद्यार्थीले व्यवस्थापन गरेका थिए । चालु शैक्षिक सत्रमा श्रमिक माविमा ५ सय भन्दा बढी विद्यार्थी भर्ना हुने प्रधानाध्यापक दाहालले बताउनुभएको छ ।