हेटौंडाः हेटौंडाको गोरक्षेश्वर धाममा हरेक पाँच वर्षमा हुँदै आएको विराट महायज्ञको तयारी पूरा भएको छ । प्रत्येक ५ वर्षमा आयोजना हुँदै आएको ‘नयाँवर्ष शुभकामना पञ्चवर्षीय विराट महायज्ञ २०८०’ को तयारी पूरा भएको हो ।
वि.सं २०६० सालदेखि पाँच–पाँच वर्षको अन्तरालमा आयोजना भइरहेको विराट महायज्ञ यसवर्ष वैशाख २० गते बुधबारबाट सुरु हुँदैछ । आगामी वैशाख २६ गतेसम्म हुने महायज्ञ हेटौंडा–१० स्थित श्री गोरक्षेश्वर दिव्यधाममा हुनेछ । महायज्ञका संयोजक अजयराज सुमार्गीले महायज्ञको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । आज बुधबार बिहान ७ः०० बजे हजारौं भक्तिमयी मातृशक्तिहरुद्वारा शान्तिशोभा कलशयात्रा आयोजना हुँदैछ । सयौं पुरुषहरुद्वारा शंख–घण्ट, पञ्चेबाजा, खैंजडी भजन, डान्डियानृत्य, झाँकीसहितको कलशयात्रा गरेर हेटौंडा बजार परिक्रमा गरिनेछ ।
कलशयात्रा गोरक्षेश्वर दिव्यधामबाट बुद्धचोक, मकवानपुर उद्योग बाणिज्य संघ हुँदै लोकप्रिय भोजनालयबाट मानसचोक, संगमचोक, कान्तिलोकपथ, पारिजातपथबाट नारायणी यातायात व्यवसायी संघ, शीतलमहल चोकबाट पश्चिम भूटनदेवी मन्दिर चोक, अखण्ड हरिकीर्तन चोक हुँदै पुनः बुद्धचोकबाट गोरक्षेश्वर दिव्यधाममा पुगेर समापन हुनेछ । महायज्ञको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुहुने गोरक्षश्वर क्षेत्र विकास समितिका अध्यक्ष एवम् महायज्ञका वरिष्ठ उपाध्यक्ष उत्तम शर्मा ढकालले बताउनुभयो । अनन्तश्री विभूषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा. सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा करपात्री स्वामी कृष्णप्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुनेछ ।