हेटौंडाः मकवानपुर–११ फुटबल टिम सिराहामा जारी छैठौं संस्करणको गोलबजार मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई २–१ गोलअन्तरले हराउँदै मकवानपुर–११ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको मकवानपुर जिल्ला फुटबल संघका सचिव छवि सुवेदीले जानकारी दिनुभयो ।
मकवानपुरको जितमा अभिषेक लामाले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको हो । वीरगञ्जका लागि कृपा चौधरीले गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । म्यान अफ द म्याच मकवानपुरका समीर तामाङ घोषित भए । दोस्रो सेमीफाइनल खेल सर्लाहीको सलहेस युवा क्लब र गुरुधाम फुटबल क्लबबीच शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
मकवानपुर–११ ले पछिल्लो पटक विभिन्न जिल्लामा भइरहेको प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यसअघि सिमरा गोल्डकपमा मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको थियो ।