गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशको चितवन र दोलखा जिल्लामा एकै दिन ३ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ भतेरीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका–८ घर भई हाल भतेरीमा काम गरी बस्ने ३६ वर्षीय बिश्वनाथ रिजाल रहेको प्रहरीले जानकारी दिएको छ ।

रिजाल बुधबार बेलुका खाना खाएर सुतेकोमा बिहिबार बिहान सुतेकै ठाउँमा मृत फेला परेका थिए । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । यस्तै, चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–४ पानीधारामा एक जना वृद्धको शव फेला परेको छ । बिहिबार पानीधाराको मन्दिर छेउमा सनाखत नभएको ६५ वर्षीय वृद्ध मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । २ बजेर ४५ मिनेटको समयमा मुचुल्का पश्चात लास पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, दोलखा जिल्लाको मेलुङ गाउँपालिका–१ साउनेमा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा तामाकोशी गाउँपालिका–१ भिरकोट घर भई हाल मेलुङ–१ पोगटी माईतीघर बस्ने ३२ वर्षीया अम्बिका खरेल रहेको प्रहरीले जनाएको छ । खरेल बिहिबार दिउँसो २ बजेर ३० मिनेटको समयमा आफु खुसी हिँडेकोमा बेलुकासम्म घर नआएकोले आफन्तहरुले खोजतलास गर्नेे क्रममा शुक्रबार बिहान ४ बजेको समयमा माईतीघरबाट ४ किलोमिटर पर अधेरी खोलाको किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।