हेटौंडाः संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) हेटौंडा उपमहानगर समितिले बिहीबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामालाई स्मरणपत्र बुझाएको छ । गत पुस १६ गते विभिन्न शिक्षक संगठनहरुसँग भएको सहमति कार्यान्वयनमा जोड दिन माग गर्दै नगर प्रमुखलाई इस्टुले स्मरण गराएको हो ।
पुस १६ गते हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकासँग शिक्षक संगठनहरुले १६ बुँदे सहमति गरेको थियो । सहमतिअनुसार पालिकाले सरोकारवाला संगठनहरुको सहभागितामा पालिकास्तरीय शैक्षिक संवाद समिति गठन गर्ने, बजेट तथा शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्दा शिक्षक संगठनहरुसँग छलफल गर्ने, वर्षमा कम्तिमा दुईपटक बैठक तथा संवाद गर्ने सहमति भएको थियो । यस्तै संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, नियमावलीमा तोकिएबमोजिम नियुक्तिपत्र, तलब, भत्तालगायत सुविधा उपलब्ध गराउन आवश्यक वातावरण निर्माण गर्ने सहमति पनि भएको थियो ।
१६ बुँदे सहमतिमा पालिकाले १० वर्षे शिक्षा योजना बनाई कार्यान्वयन गर्ने बुँदा पनि समावेश गरिएको छ । इस्टुले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गराउनुपर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ । स्मरणपत्र बुझाउन इस्टुका केन्द्रीय उपाध्यक्ष दीपक गौतम, केन्द्रीय सदस्य एसके ज्ञवाली, मकवानपुर जिल्ला अध्यक्ष रामशरण रिजाल पुग्नुभएको थियो ।