सोमबार भुटनदेवी माविमा प्रवेश परीक्षा दिँदै विद्यार्थी ।

हेटौंडाः मधेश प्रदेशमा सरकारी मात्रै होइन निजी विद्यालयबाट पनि अभिभावक सन्तुष्ट हुन सकेका छैनन् । आफ्नै घर–आँगनका विद्यालयको भर नभएपछि मधेशका अभिभावक आफ्ना बालबालिका लिएर हेटौंडाका विद्यालयमा भर्ना गर्न आएका छन् । हेटौंडाका विद्यालय आइपुग्दा पनि अभिभावकलाई सुख छैन । विद्यालयले भर्ना लिन सक्ने भन्दा बढी संख्यामा विद्यार्थीको चाप भएसँगै विद्यार्थी प्रवेश परीक्षा दिन बाध्य छन् ।

मधेशबाट हेटौंडा उक्लने अधिकांश राम्रा विद्यार्थी छन् । आफ्ना बालबालिकाको पढाई राम्रो भएकै कारण विद्यालय तहमै राम्रो विद्यालय खोज्दै अभिभावक हेटौंडा आएका छन् । पढाई राम्रो भएका विद्यार्थी र आफ्ना बालबालिकाको पढाई राम्रो भएकै कारण राम्रो विद्यालय खोज्दै, आवश्यक खर्च गर्ने योजनासहित मधेशका अभिभावक हेटौंडामा विद्यालय खोज्दै आएका छन् । बच्चाको पढाई राम्रो भएकै कारण खर्च गर्न तयार भएर हेटौंडा आएको अभिभावक बताउँछन् ।

आफ्ना बाबुनानी विद्यालयमा प्रवेश परीक्षा दिँदै गर्दा विद्यालय परिसरमा रहेका अभिभावक चिन्तित मुद्रामा देखिन्थे । सर्लाही जिल्लाको बरहथवाकी दुर्गा राउत सोमबार बिहान हेटौंडा–४ स्थित भुटनदेवी मावि परिसरमा भेटिनुभयो । छोरालाई ८ कक्षामा भर्ना गराउन सोमबार बिहानै हेटौंडा आइपुग्नु भएको हो दुर्गा राउत । ७ कक्षासम्म बरहथवामै निजी विद्यालयमा पढेका छोराको राम्रो पढाईकै लागि हेटौंडा लिएर आएको उहाँ बताउनुहुन्छ । नियमित शूल्क, कोचिङ कक्षाको शूल्क भन्दा ८÷१० हजार रुपैयाँ मासिक खर्च हुने गरेको सुनाउँदै दुर्गाले भन्नुभयो, “निजी विद्यालय भए पनि पढाई राम्रो छैन । त्यही खर्चले यहाँ सरकारीमा त्यो भन्दा राम्रो पढाई हुने भएकोले यहाँ ल्याएको छु । प्रवेश परीक्षामा उत्तीर्ण भयो भने भर्ना गर्नुपर्छ ।”

रौतहट जिल्लाका सुरेन्द्र यादव छोरालाई ९ कक्षामा भर्ना गराउनकै लागि सोमबार बिहान हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा प्रवेश परीक्षामा सहभागी गराउनु भयो भने बिहान ११ बजेदेखि भुटनदेवी माविमा प्रवेश परीक्षामा सहभागी गराउँदै हुनुहुन्थ्यो । यादव भन्नुहुन्छ, “दुई मध्ये कुनै एक विद्यालयमा छोराको नाम निक्लने आशा छ । यहाँ होस्टेलमा राखेर पढाउने योजना बनाएको छु ।” भुटनदेवी माविमा सोमबार कक्षा ७, ८ र ९ मा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा सञ्चालन गरिएको थियो ।

भुटनदेवी माविका सहायक प्रधानाध्यापक भरत पोखरेल विद्यालयमा विद्यार्थी भर्ना गर्न सकिने सीमित संख्या रहेकोले प्रवेश परीक्षा लिनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । सोमबार कक्षा ७ मा भर्ना हुन १ सय ३४ जना, ८ मा १ सय ९३ जना र ९ मा १ सय ४१ जनाले प्रवेश परीक्षा दिएका छन् । तीनवटै कक्षामा बढीमा ५०÷५० जनाका दरले विद्यार्थी भर्ना गर्न सकिने अवस्था रहेको सहायक प्रधानाध्यापक पोखरेल बताउनुहुन्छ । भुटनदेवी माविको १ हजार ७ सय विद्यार्थी भर्ना गर्न सक्ने अवस्था छ ।

यस्तै सोमबार बिहानै हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा पनि कक्षा ६, ८ र ९ मा भर्ना हुन चाहने ५ सय ५० विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । ती मध्ये बढीमा २ सय जनालाई मात्रै भर्ना गर्न सकिने आधुनिक राष्ट्रिय माविका शिक्षक कृष्णगोपाल श्रेष्ठ बताउनुहुन्छ । यसअघि १ कक्षादेखि ५ कक्षासम्म भर्ना हुन चाहने ५ सय विद्यार्थीको प्रवेश परीक्षा लिइसकेको श्रेष्ठ बताउनुहुन्छ । कक्षा–१ देखि ५ सम्म पनि बढीमा २ सय विद्यार्थी भर्ना गर्न सक्ने अवस्था रहेको उहाँको भनाइ छ । आधुनिक राष्ट्रिय माविले ४ सयको संख्यामा नयाँ विद्यार्थी भर्ना गर्दा कुल विद्यार्थी संख्या २ हजार ६ सय पुग्नेछ ।

आधुनिक राष्ट्रिय माविमा प्रवेश परीक्षा दिने कुल विद्यार्थी मध्ये ५० प्रतिशतभन्दा बढी मधेशकै रहेको बताइएको छ । आधुनिकले सोमबार साँझै प्रवेश परीक्षाको नतीजा सार्वजनिक गरेको छ । पछिल्लो समय विद्यालयको वार्षिक परीक्षामा मधेशका विद्यार्थीको नतीजा उत्कृष्ट छ । हेटौंडा बजार क्षेत्रका राम्रा सरकारी विद्यालयमा मधेशका विद्यार्थीको अनुपात बढ्दो क्रममा छ ।