हाजिरीजवाफमा सहभागि विद्यार्थीहरु ।

हेटौंडाः विश्व औलो दिवसको अवसरमा हेटौंडामा हाजिरीजवाफ कार्यक्रम भएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले मंगलबार आयोजना गरेको कार्यक्रममा हेटौंडा–५ स्थित मकवानपुर टेक्निकल इन्स्टिच्युटमा स्वास्थ्य प्राविधिक विषयका विद्यार्थीको सहभागिता रहेको थियो ।

विश्व औलो दिवसकै अवसरमा प्रदेशका १० स्थानमा औलोसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको औलो फोकल पर्सन सुशील आचार्यले जानकारी दिनुभएको छ । अप्रिल २५ का दिन विश्व औलो दिवस मनाइन्छ । सन् १९५८ बाट विश्व औलो दिवस मनाउँदै आएको हो । “शून्य औलो अबको थालनीः नवीनतम कार्य, कार्यान्वयनमा लगानी” भन्ने नाराका साथ यस वर्षको औलो दिवस मनाइँदैछ । बागमती प्रदेशमा अहिले औलोका २७ जना विरामी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालले सन् २०२५ सम्ममा औलो निवारण गर्ने लक्ष्य लिएको छ ।

खुला सिमानाका कारण भारतसँग हुने आउजाउका कारण औलोको संक्रमण नियन्त्रणमा मुख्य चुनौति रहेको सरकारको ठम्याइ छ । औलो लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी शिव वडाल, विश्व स्वास्थ्य संगठम, सिटिइभिटि, सेभद चिल्ड्रेनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।