हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१७, हटियाको ठुलोगंगटेमा रहेको अंगारेश्वर खानेपानी तथा सरसफाई उपभोक्त समितिको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अंगारेश्वर खानेपानी तथा सरसफाई उपभोक्त समितिका अध्यक्ष धर्मराज अर्यालको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा शनिबार साधारणसभा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमकट्टेलले आफू आर्थिक मन्त्री रहँदा प्रदेशमा खानेपानी र सिंचाइको लागि प्रशस्त बजेट विनियोजन गरेको बताउनुभयो । चालु आर्थिक वर्षका लागि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई २ करोड ८७ लाख बजेट खानेपानीको लागि छुट्याएको उहाँले जानकारी दिनुभयो । खानेपानी र सिंचाईका लागि मन्त्रालयले प्रशस्त बजेट दिन सक्ने भएकाले योजना बनाएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
खानेपानीको लागि मन्त्रालयमार्फत् बजेट वितरण गर्न आफू सधैं तत्पर रहेको उहाँको भनाई छ । अहिले प्रदेश सरकारले कृषि क्षेत्रमा व्यक्तिलाई अनुदान दिन बन्द गरेको र समाजमा रहेको समूहलाई अनुदान दिने गरेको उहाँले जानकारी दिनुभयो । एउटा व्यक्तिलाई अनुदान दिँदा कागजी खेती, कागजी पशुपालन हुने र प्रदेशमा आयआर्जनको पाटो नभएकाले व्यक्तिलाई अनुदान दिन रोक लगाएको उहाँले जानकारी दिनुभयो ।
प्रदेशभित्र २–४ जनालाई विकास नभई २–४ हजार जनासम्म विकासको योजना पुर्याउने आफ्नो लक्ष्य रहेको उहाँको भनाई छ । अहिले प्रदेशले स्थानअनुसार उत्पादन हुने बाली पहिचान गरी पकेट योजनाको निर्माण गर्न प्रोत्साहन गर्ने भन्दै विकासको काममा प्रदेश सरकार पछि नहट्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले यस क्षेत्रको खानेपानीका लागि आफूले सक्दो सहयोग गरेको भन्दै खानेपानीलाई निरन्तरता दिने बताउनुभयो । पुलामीले उपभोक्ता समितिले खानेपानी मुहानलाई निरन्तरता दिन हरियालीपूर्ण स्वच्छ वातावरण बनाएर राख्नुपर्नेमा जोड दिनुभयो । यस क्षेत्रमा केही उपभोक्तले महशुल महंगो भएको भनेकोमा पछिल्ला दिनहरुमा घटाउँदै जान सकिनेमा जोड दिनुभयो ।
यस क्षेत्रमा खेतीयोग्य जमिन भएकाले खानेपानीलाई सिंचाइमा प्रयोग नगर्न आग्रह गर्दै खानेपानी खानका लागि प्रयोग गर्नुपर्ने र सिंचाईको लागि अन्य योजना ल्याउन सकिने उहाँको भनाई छ । हिजोको दिनमा चुनावको मुखमा नेताहरुले विभिन्न आश्वासन दिए पनि अहिले मुख देखाउन नआएको बताउँदै अहिले विकासे पार्टीको नाममा हिँड्न आवश्यक रहेको उहाँको भनाई छ ।
२०५९ सालमा स्थापना भएको अंगारेश्वर खानेपानी उपभोक्ता समूहले अहिले दैनिक १५ लाख लिटर पानी उपभोक्तालाई वितरण गर्दै आएको छ । उपभोक्ता समितिमार्फत् हेटौंडाको १६, १७ र १८ नम्बर वडामा ९१४ वटा धारा जडान भएको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा आबद्ध भएकाहरुलाई १० हजार लिटर पानी निःशुल्क दिने गरेको तर गाउँका उपभोक्त समितिले सञ्चालन गरेको पानीको धारामा सहुलियत नगरेको गुनासो उपभोक्ता समितिका सदस्यहरुले गरेका छन् ।