हेटौंडाः बिहीबार नुवाकोट जिल्लामा एक कंकाल फेला परेको छ भने सिन्धुपाल्चोकमा एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । यस्तै चितवनमा एकजनाको शव बरामद भएको छ ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–२ काफलचौरमा एक मानिसको कंकाल फेला परेको छ । कंकाल बिहीबार दिउँसो ४ बजेको समयमा काफलचौरको भीरपाखामा लिङ्ग पहिचान हुन नसकेको अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कंकालको मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका–६ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ६५ वर्षीय गोपाल पाण्डे रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । पाण्डे बुधबार घुम्न गएकोमा घर नआएपछि आफन्तले खोजी गर्दा बिहीबार बिहान ८ बजेको समयमा बाटोदेखि ६० मिटर तल भीरबाट लडी मृत अवस्थामा फेला परेका थिए ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ मा एक जना पुरुष व्यक्तिको शव फेला परेको छ । बिहीबार दिउँसो २ बजेको समयमा नारायणी नदि किनारमा हाल सनाखत नभएको ५५ वर्षीय पुरुषको शव नदिले बगाई ल्याएको अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।