हेटौंडाः बागमती प्रदेशका ४ जिल्लामा ६ जनाले आत्महत्या प्रयास गरेका छन् । आत्महत्या प्रयास गर्ने मध्ये ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । शुक्रबार र शनिबार २ दिनमा नुवाकोट, सिन्धुली, रामेछाप र काभ्रे जिल्लामा आत्महत्याका घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आत्महत्या गर्नेमा १३ वर्षीय बालकदेखि ७० वर्षीय वृद्ध समेत छन् । काभे्रको पाँचखाल नगरपालिका–३, थुम्कामा ३६ वर्षीया तुल्सा भुजेल, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४, ज्यामिरेकमा ७० वर्षीय गोमानसिंह स्याङ्तान, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३, हावाडाका १३ वर्षीय सरोज राई, रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोलका ५२ वर्षीय रमेश सार्कीले झुण्डिएर आत्महत्या गरेका छन् ।
यस्तै सिन्धुली जिल्लाको मरिण गाउँपालिका–७, महेस्वतामा एक महिलाले आत्महत्याको प्रयास गरेकी छिन् । ३१ वर्षीया सबिना कार्की आफ्नै घरको भुई तल्लामा रहेको निदालमा सलको पासो लगाई झुण्डी रहेको अवस्थामा फेला परेकी थिइन् । उनकी छोरी अनिस्मा कार्कीले देखी पासो काटी तत्कालै उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा समान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको प्रहरीले जनाएको छ ।
काभ्रेको धुलिखेल नगरपलिका–९, काभ्रेभज्याङमा मादक पदार्थ सेवन गरी आफैले आफ्नो घाँटी खुकुरीले रेटी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । आत्महत्याको प्रयास गर्नेमा २६ वर्षीय सुकु बिक रहेको छ । बिकले आफैले आफ्नो घाँटी खुकुरीले रेटी घाईते भएको र घाईतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । आत्महत्याका घटना उच्च दरमा रहे पनि यसको रोकथाममा सरोकारवालाले ध्यान दिन सकेको छैन ।