शैक्षिक सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा–७, नागश्वतीस्थित नवज्योति माध्यमिक विद्यालयलाई ४ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बुधबार विद्यालय परिसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापा मगरलाई ४ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन गणित र विज्ञान विषयसँग सम्बन्धित सामग्री सहयोग गरिएको वडा अध्यक्ष गौतमले बताउनुभयो । यस्ता शैक्षिक सामग्रीले विद्यार्थीको पठनपाठन प्रभावकारी हुनुका साथै विद्यालयमा विद्यार्थी संख्यामा वृद्धि हुने उहाँले बताउनुभयो । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु दिनेश थापा मगर, श्यामसुन्दर परियार, सन्तुमाया पाख्रिन, र राधिका विक, वडा सचिव प्रशान्त श्रेष्ठ लगायत विद्यालयका शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो ।