हेटौंडाः मकवानपुर जिल्लाका दुईवटा डिभिजन वन कार्यालयमार्फत काठ विक्री सुरु भएको छ । मकवानपुरको मनहरी गाउँपालिकास्थित डिभिजन वन कार्यालय राप्ती र हेटौंडास्थित डिभिजन वन कार्यालय मकवानपुरमार्फत काठ विक्री सुरु गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।
जिल्ला वन पैदावार आपूर्ति समितिमार्फत सर्वसाधारणलाई चिरान काठ विक्री गर्ने गरी डिभिजन वन कार्यालय राप्तीअन्तर्गतको सव–डिभिजन वन कार्यालय पालुङमा डिपो स्थापना गरिएको छ । यस्तै हेटौंडामा भने डिभिजन वन कार्यालयमै काठको माग गरी आवेदन दिन सकिनेछ । यसअघि आपूर्ति समितिमार्फत गोलाइ नै विक्री गर्दै आएकोमा अबदेखि भने चिरान नै विक्री गर्ने व्यवस्था मिलाइएको छ ।
आपूर्ति समितिसँग करिब ४० हजार सेफ्टी काठ उपलब्ध रहेकोले उपाभोक्ताको मागअनुसार काठ उपलब्ध गराउन सकिने आचार्यको भनाइ छ । “हामीसँग जिल्लामा अहिले ४० हजार सेफ्टी भन्दा बढी काठ उपलब्ध छ । हामी मर्मत कार्यका लागि २० सेफ्टी र नयाँ घर बनाउनका लागि ५० सेफ्टी चिरान उपलब्ध गराउने छौं,” आचार्यले भन्नुभयो, “डिभिजन वन कार्यालय मनहरीको कार्यक्षेत्रअन्तर्गत थाहा नगर र आसपासको क्षेत्रलाई सहजताका लागि पालुङमा डिपो स्थापना गरिएको छ । काठको डिपो राख्न थाहा नगरपालिकाले स्थान उपलब्ध गराउनेदेखि डिपो व्यवस्थापनमा पनि सहयोग गरिरहेको छ ।”
वडा र पालिकाको सिफारिसमा सजिलै काठ उपलब्ध गराउन तयार रहेको आचार्यले स्पष्ट पार्नुभएको छ । वन क्षेत्र नभएका उपभोक्तालाई लक्षित गरी आपूर्ति समितिले सामुदायिक वनसँग प्राप्त गरेको काठ नै विक्री गर्ने हो । पालुङ डिपोमार्फत चिरान प्रतिसेफ्टी ३ हजार ८ सय रुपैयाँमा विक्री गरिनेछ । अहिले बजारमा औसत ६ हजार रुपैयाँमा प्रति सेफ्टी काठको कारोबार भइरहेको छ । आपूर्ति समितिबाट सहुलियतमा प्राप्त हुने काठको दुरुपयोग नहोस् भनी आचार्यको संयोजकत्वमा अनुगमन समिति समेत बनाइएको छ ।
मर्मतका लागि २० सेफ्टी र नयाँ घर बनाउन ५० सेफ्टी काठ पर्याप्त हुने आचार्य दावी गर्नुहुन्छ । डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटाको अगुवाई र अग्रसरतामा आपूर्ति समितिमा रहेको काठ विक्री गर्ने अवस्था आएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख आचार्य बताउनुहुन्छ ।