हेटौंडाः दैनिक आयआर्जनमा जोडिनका लागि हेटौंडा उपमहानगरपलिकाले ९ परिवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । दलित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत ६ वटा वडाका ९ जनालाई नगरप्रमुख मीनाकुमारी लामाले सोमबार सिलाई मेसिन हस्तान्तरण गर्नुभएको हो ।
मेसिन हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख लामाले मेसिनको सदुपयोग गर्दै आयआर्जनमा जोडिन आग्रह गर्नुभएको छ । घरमा बसी–बसी आफ्नो सीपलाई तिखार्दै भोलिको दिनलाई सुन्दर बनाउन नगरप्रमुख लामाले सुझाव दिनुभयो । प्रतिमेसिन १५ हजार रुपैयाँ लागतमा खरिद गरी १, ५, ८, ११, १७ र १८ नम्बर वडाका ९ वटा परिवारलाई हस्तान्तरण गरेको हेटौंडा उपमहानगरपालिकाको समाज कल्याण शाखाका प्रमुख भैरवबहादुर कुमालले जानकारी दिनुभयो । कार्यक्रममा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका सचिव कमलकुमार बिश्वकर्माको सहभागिता रहेको थियो ।