हेटौंडाः हेटौंडा–१८, ठुलोदमारमा संचालित हर्नामाडी डीप बोरिङ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । मंगलबार बिहान हेटौंडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण बानियाँ र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टबीच सम्झौतापत्र आदानप्रदान गरी खानेपानी आयोजना हस्तान्तरण गरिएको हो ।
२०७६ सालबाट उपभोक्ता समितिले सञ्चालन गर्दै आएको योजनाबाट १ सय ८१ घरधुरीले खानेपानी उपभोग गर्दै आएका छन् । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यामा हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा १८ नम्बर वडा अध्यक्ष अनिल कुमार बानियाँको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले अहिले बोर्डमार्फत २३ हजार भन्दा बढी धारा वितरण गरी खानेपानी वितरण गर्दै आएको बताउनुभयो । बोर्डले नगर भित्रका साना–साना खानेपानी उपभोक्ता समितिहरु बोर्डमा गाभेर गुणस्तरीय सेवा प्रदान गरिरहेको अध्यक्ष विष्टले दावी गर्नुभएको छ । बोर्डमार्फत १० हजार लिटर पानी निशूल्क पाउने व्यवस्थाले पनि उपभोक्ता समितिहरु बोर्डमा गाभिन प्रेरित भएको उहाँको भनाइ थियो ।
नगर उपप्रमुख राजेश बानियाँले निम्न वर्गका मानिसलाई सहजताका लागि नगरपालिकाले १० हजार लिटर खानेपानी निशुल्क दिने निर्णय भएको बताउनुभयो । खानेपानी बोर्ड हेटौंडा उपमहानगरपालिकाको नै रहेको बताउनुहुँदै नगरवासीलाई खानेपानीमा समस्या आउन नदिने उहाँले स्पष्ट पार्नुभएको छ ।