बन्दप्रशिक्षणबारे जानकारी दिनुहुँदै अध्यक्ष वेश खड्गी ।

हेटौंडाः बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुने मकवानपुर जिल्लाका खेलाडीको बन्दप्रशिक्षण सुरु भएको छ । पहिलो पटक बन्दप्रशिक्षणमा ६९ जना खेलाडी सहभागी छन् । सोमबारदेखि सुरु भएको बन्द प्रशिक्षण आगामी शुक्रबारसम्म चल्नेछ ।

जिल्लाका पालिकाहरुको सहयोगमा मकवानपुर जिल्ला खेलकुद विकास समितिले पहिलो पटक बन्द प्रशिक्षणको व्यवस्था मिलाएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले बताउनुभएको छ । बन्दप्रशिक्षणका क्रममा खेलाडीहरुले हेटौंडा–४ स्थित हुप्रचौरमा प्रशिक्षण गर्नेछन् । बिहान र बेलुका २/२ घण्टा प्रशिक्षण हुनेछ । बन्दप्रशिक्षणका लागि २ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको अध्यक्ष खड्गीले जानकारी दिनुभयो ।

बन्दप्रशिक्षणमा सहभागी खेलाडीहरु ।

मंगलबार बिहान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई सम्बोधन गर्नुहुँदै पालिका र जिल्लाको नाम राख्ने गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समितिले पालिकाका प्रमुखहरुसँगको बैठकमा खेलकुदलाई प्राथमिकतामा राख्न आग्रह गरेको र पालिकाहरु पनि खेललाई प्राथमिकतामा राख्न तयार रहेको उहाँले बताउनुभएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वप्रमुख एवम् राष्ट्रिय खेलकुद परिषद्को प्रचारप्रसार विभागका प्रमुख खुशराज दाहालले मकवानपुर जिल्लाले राष्ट्रपति रनिङ सिल्डको प्रदेशस्तरीय प्रतियोगितामा ५ वटा स्वर्ण पदक जितेको रेकर्ड तोड्ने गरी तयारी गर्न आग्रह गर्नुभएको छ । प्रदेशस्तरीय प्रतियोगिता आगामी बैशाख ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुँदैछ ।