हेटौंडाः चितवन, सिन्धुपाल्चोक र धादिङमा तीनजनाको मृत्यु भएको छ । चितवनमा एकजना मृत फेला परेका छन् भने सिन्धुपाल्चोकमा स्वीमिङ पुलमा डुबेर एकजनाको मृत्यु भएको छ भने धादिङमा सवारी दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, देवघाटमा एकजना महिला मृत फेला परेकी छिन् । मृत फेला पर्नेमा देवघाटको थारुकुटि आश्रममा १५ दिनदेखि बस्दै आएकी अन्दाजी ४५ वर्षीया तराईमूलकी जस्तो देखिने महिलाको परिचय खुल्न नसकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । महिला शनिबार बिहान ७ बजेको समयमा कुटिमा मृत फेला परेकी थिईन् ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–३ गोपिनेचौरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । माया बिच रिसोर्टमा रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा तनहुँ जिल्लाको भानु नगरपालिका–३ घर भई हाल भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३३ वर्षीय अशोक गुरुङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गुरुङ शनिबार पौडी खेल्ने क्रममा पानीमा डुबी अचेत अवस्थामा फेला परेका थिए । गुरुङलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा १ बजेको समयमा डाक्टरले मृत घोषण गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाको गल्छी गाउँपालिका–७ बाईस किल्लामा सवारी दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्दलेख बस्ने ७५ वर्षीया सुकमाया मिजार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । शनिबार २ बजेर ३० मिनेटको समयमा पृथ्वी लोकमार्गमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख ९९०८ नम्बरको माईक्रो बसले ठक्कर दिँदा मिजार गम्भीर घाईत भएका थिए । घाईते मिजारलाई उपचारका लागि नेपाल नेशनल अस्पताल कलंकी लगिएको ७ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । माईक्रो र माईक्रो चालक नियन्त्रणमा लिएर कागज गरी छाडिएकोे र चालक ल्याउन समान्वय भइरहेको प्रहरीले जानकारी दिएको छ ।











