एकीकृत शिविरमा सेवा लिन आएका सेवाग्राही ।

हेटौंडाः राक्सिराङ गाउँपालिका जनताको घरघरमा पुगेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित कर्मचारीको टोली नै जनताको घरघरमा सेवा दिन पुगेका हुन् ।

गाउँपालिकाले प्रदान गर्ने सेवाहरुमा सहज पहुँच नभएर वञ्चितिमा परेका विकट भेगका बासिन्दाहरुलाई लक्षित गर्दै राक्सिराङ गाउँपालिकाले फागुन २९ गते, चैत्र ६ गते, चैत्र १४ गते र चैत्र २२ गते गरी ४ दिन शिविर सञ्चालन गरेको थियो । शिविरमा स्वास्थ्य सेवा, कृषि बीउ बिजन वितरण, पशु औषधि वितरण, आयुर्वेद सेवा, गरिब परिचयपत्र वितरण सेवा र ज्येष्ठ नागरिक, अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र निःशुल्क औषधिको समेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

गाउँपालिकाले सञ्चालन गरेको एकीकृत शिविरमा एक हजार ४ सय ४५ जानाले स्वास्थ्य सेवा लिएका छन् । त्यस्तै, ७ सय ६२ जनालाई आयुर्वेद सेवा प्रदान गरिएको छ । ६ सय ५३ जनालाई कृषि बीउ बिजन वितरण गरिएको र ७ सय ८ जनालाई पशु औषधि वितरण गरिएको गाउँपालिकाका सूचना अधिकृत अन्जन हटुवालले जानकारी दिनुभयो ।

घरघरमा गई ३१ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा सेवा दिइएको छ । १५ जनाले अपाङ्गता सम्बन्धी सेवा लिएका छन् । शिविरमा २ सय ६१ जनालाई गरिब परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले फागुन २९ गते ४ नम्बर वडा कार्यालय, चैत ६ गते ९ नम्बर वडा कार्यालय डन्टार, ६, ७ र ८ नम्बर वडाका लागि राक्सिराङ–७ स्थित जुरेथुममा चैत १४ गते र चैत २२ गते वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुंगुमा एकीकृत शिविरको आयोजना गरेको थियो ।

कार्यक्रमअन्तर्गत् पालिकाभित्रका १७ वटा कृषक समूहलाई हाते ट्याक्टरसमेत वितरण गरिएको छ । गाउँपालिकाले बिजुली बत्ती नपुगेको ठाउँमा झन्डै ६० भन्दा बढी परिवारलाई सोलार सेटसमेत घरमै पुर्याइदिएको छ । गाउँपालिकाले अभियानबाट धेरै स्थानीयलाई सेवा प्रदान गर्न सकिएको निष्कर्षसहित निरन्तरता दिने जनाएको छ । आगामी वर्ष प्रत्येक वडा तथा टोलमा पुगी एकीकृत शिविर सञ्चालन गर्नेगरी योजना बनाइएको गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो ।