हेटौंडाः हेटौंडा–८, श्रमिक टोलमा रहेको श्रमिक पार्क स्तरीकरण तथा भौतिक पूर्वाधार निर्माण र पुरातात्विक ईनार संरक्षणको कार्य सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन विकास आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको वार्षिक कार्यक्रमअनुसार पार्क स्तरीकरण सम्पन्न भएको हो ।
निर्माण कार्य सम्पन्न भएसँगै शनिबार वडा अध्यक्ष रामकृष्ण थापाले पार्कको उद्घाटन गर्नुभएको हो । उद्घानको क्रममा बोल्नुहुँदै अध्यक्ष थापाले टोल विकासको काम सराहनीय रहेको बताउनुभयो । थापाले आगामी दिनमा भौतिक पूर्वाधारका साथै सामाजिक विकासका काममा लाग्न आग्रह गर्नुहुँदै वडाको सदैव साथ रहने विश्वास व्यक्त गर्नुभयो । वडा कार्यालयले संचालन गर्न लागेको क्षमता विकास तथा लोकसेवा तयारी कक्षामा वडाका सम्पुर्ण यूवालाई सक्रिय रुपमा सहभागी हुन पनि वडा अध्यक्ष थापाले आग्रह समेत गर्नुभयो ।
श्रमिक टोल विकास संस्थाका अध्यक्ष इन्द्र प्रसाद ढुङ्गेलको अध्यक्षता तथा वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा पार्क उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा पर्यटन विकास आयोजनाका ईन्जिनियर मेनम लामा तथा टोल विकास समन्वय समिति हेटौडा–८, अध्यक्ष विष्णु अर्यालको आतिथ्य रहेको थियो ।