हेटौंडाः मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित मेयर कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणको दोस्रो खेलमा मकवानपुर विजयी भएको छ । शनिबार भएको खेलमा मकवानपुरले रौतहटलाई ४ विकेटले हराएको मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव विनोद बानियाँले जानकारी दिनुभयो ।
रौतहटले दिएको १ सय ८ रनको लक्ष्य मकवानपुरले ६ विकेट गुमाएर पुरा गर्यो । रौतहटले टस जितेर पहिले व्याटिङ गरेको थियो । मकवानपुरका लागि गौरव खड्काले अर्धसतक खेले । उनले ५७ रन बनाए । खेलको म्यान अफ द म्याच खड्का घोषित भए ।
मकवानपुर शुक्रबार भएको पहिलो चरणको खेलमा मकवानपुर बारा जिल्लाको क्रिकेट टिमसँग पराजित भएको थियो । समुह चरण अन्तर्गत आइतबारको खेलमा रौतहट र बारा जिल्लाको क्रिकेट टिमबीच प्रतिस्पर्धा हुनेछ । रौतहटले बारालाई हराएमा मकवानपुर समुह चरणबाट सेमिफाइनल प्रवेश गर्न सम्भावना प्रवल हुनेछ । प्रतियोगिताको फाइनल खेल बैशाख १ गते हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख ५१ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।