अभि मैनाली
स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय शिक्षक
भुटनदेवी मावि, हेटौंडा–४
एसईईअन्तर्गत आज स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा भयो । आजको प्रश्नपत्र औसत विद्यार्थीका लागि सीप र रचनात्मक उत्तर दिन सहज हुने किसिमको छ । उच्चस्तरको प्रश्न अलि जटिल हुने भएकोले ज्ञान धेरै हुन आवश्यक देखिन्छ । सरसर्ती हेर्दा विद्यार्थीलाई उत्तर दिन सहज नै हुने देखिन्छ ।
परिस्थितिगत विस्तारका प्रश्नहरु आएका छन् जुन आफ्नो धारणा लेख्नु पर्छ । त्यस्ता प्रश्नहरु जटिल छन् । स्वास्थ्यका दृष्टिकोणले गुणस्तरीय जिवनमा ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ? भन्ने प्रश्नलाई स्वास्थ्यको दृष्टिकोणले हेर्नुपर्ने हुँदा यसको उत्तर लामो दिनुपर्ने हुन्छ जसलाई व्याख्या गर्नुपर्छ आफ्नो मौलिक उत्तर दिनुपर्छ त्यसमा जटिलता आउन सक्छ ।

मोबाइल फोन र इन्टरनेटको उपयोगिता, महिला सशक्तीकरणको विषय, लागुऔषध दूव्र्यसन, उपचार भन्दा रोकथाम राम्रो, वन्यजन्तु आरक्षण, राजनीति जस्ता प्रश्न ८ कक्षादेखि नै सुन्दै आएका छन् । त्यस्ता प्रश्नको उत्तर दिन विद्यार्थीलाई सहज हुन्छ । प्रश्नपत्रमा कुनै किसिमको त्रुटी देखिँदैन । प्रश्नको नमूनाअनुसार नै तयार पारेको देखिन्छ ।

एसईईको छैठौं दिन शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयमा ६ हजार एक सय ५९ जना परीक्षार्थी उपस्थित भएका छन् । छात्रा ३ हजार ३ सय ६५ जना र छात्र २ हजार ७ सय ९४ जना उपस्थित भएका हुन् । यस्तै एक सय २४ जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्राविधिक प्रेमचन्द्र चौधरीले जानकारी दिनुभएको छ । छात्रा ४६ जना र छात्र ७८ जना परीक्षामा अनुपस्थित भएको उहाँले बताउनुभयो । चैत २९ गतेसम्म संचालन हुने परीक्षाको सातौं दिन शनिबार ऐच्छिक विषयको परीक्षा हुनेछ ।











