भर्ना अभियानअन्तर्गत घरदैलो गार्द शिक्षकहरु ।

हेटौंडाः हेटौंडा–६, गौरीटारस्थित बालजागृति युवावर्ष माध्यमिक विद्यालयले भर्ना अभियान सुरु गरेको छ । वार्षिक परीक्षा सम्पन्न भएसँगै मंगलबारदेखि भर्ना अभियान सुरु गरेको हो । आउँदो शैक्षिक सत्र–२०८० का लागि नर्सरीदेखि कक्षा–९ सम्मको भर्ना अभियान सुरु गरिएको प्रधानाध्यापक सम्झाना अधिकारीले जानकारी दिनुभएको छ ।

प्रधानाध्यापक अधिकारीकाअनुसार भर्ना अभियान अन्तर्गत विद्यालय घरदैलो कार्यक्रममा निस्किएको छ । घरदैलोका क्रममा बालबालिका र अभिभावकहरु विद्यालयको शिक्षण सिकाई र अन्य गतिविधिबाट सन्तुष्ट भएको उहाँले भन्नुभयो । विद्यालयको यस वर्षको शिक्षण सिकाई र अतिरिक्त क्रियाकलापको आधारमा विद्यार्थी र अभिभावक सन्तृष्ट पाइएको उहाँको भनाइ छ । भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई प्रभावकारी बनाउन ६ वटा समूह विभाजन गरिएको छ । ती समुहलाई विद्यालयको समग्र क्षेत्र समेटिने गरी १÷१ वटा क्षेत्र तोकिएको बताउनुभयो ।

प्रत्येक समूह भित्र पनि एकजना शिक्षकलाई संयोजकका रुपमा विशेष जिम्मेवारी दिइएको छ । उहाँहरुले आ–आफ्नो अनुकुल समय निर्धारण गरी अन्य समूहका शिक्षकहरुलाई पनि सहभागी गराई बिहानी र साँझको समयमा अभिभावकलाई भेट्ने गरी अभियानमा लागेको जानकारी दिनुभयो । घरदैलो कार्यक्रमलाई प्रभावकारी रुपमा बनाउन आफ्नो जिम्मेवारी पूरा गरेर प्रशासनमा लिखित जानकारी समेत गरिएको बताउनुभयो ।

उक्त क्षेत्रका तथ्यांक प्राप्त भएपश्चात आवश्यकताअनुसार विद्यालय प्रशासनले सम्पर्क गर्ने र आउँदो वैशाखमा पुनः एक पटक घरदैलो पुग्ने उहाँको भनाइ छ । जसले कुनैपनि बालबालिका विद्यालयबाट बञ्चित नहोस् भन्ने उद्देश्यले विद्यालय उक्त अभियानमा लगेको जानकारी दिनुभयो । आउँदो शैक्षिक सत्रमा नर्सरी, केजीदेखि कक्षा–६ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

प्रधानाध्यापक अधिकारीले प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा शिक्षण सिकाई सुधारोन्मुख रहेको दावी गर्नुभयो । एक वर्षको शिक्षण सिकाईको मूल्यांकन भने वार्षिक परीक्षाको नतिजा प्रकाशन पश्चात मात्र हुने बताउनुभयो । विद्यालयले चैत २८ गते वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी गरेको उहाँको भनाइ छ । ४ कक्षादेखि ९ कक्षासम्मका विद्यार्थीका लागि अतिरिक्त कक्षा संचालनले शिक्षण सिकाई सुधारउन्मुख भएको जानकारी गराउनुहुँदै प्रधानाध्यापक अधिकारीले भन्नुभयो, “विद्यालयले नतिजा प्रकाशन पश्चात् विद्यालयको कमि–कमजोरीलाई सुधार गरी आगामी वर्षको शैक्षिक कार्यक्रमलाई निरन्तरता दिनेछौं ।”

बालजागृतिले आउँदो शैक्षिक सत्रमा अंग्रेजी माध्यममा पठनपाठनलाई प्राथमिकतामा राखेको छ । यस्तै ई–लाइब्रेरी व्यवस्थापन, बाल विकास कक्षामा पूर्वाधारको विकास, विद्यालयमा रंगरोगन, विद्यालयमा यातायातको व्यवस्था र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण गराउने गरी शैक्षिक एजेण्डा विद्यालयले अघि बढाएको छ । प्रधानाध्यापक अधिकारीकाअनुसार घरदैलो कार्यक्रमका क्रममा संस्थागत विद्यालयका विद्यार्थी समेत सामुदायिक विद्यालयमा आउने मनसाय राखेका छन् । भौतिक संरचनाको अभावकै कारण विद्यार्थीलाई समेट्न चुनौति रहेको उहाँले स्पष्ट पार्नुभयो । घर टाढा भएका विद्यार्थीलाई विद्यालय आउन र घर फर्कन समस्या हुने गरेको छ । अंग्रेजी माध्यम संचालन भएपश्चत् विद्यार्थी संख्या बढ्दा कक्षाकोठा लगायतका पूर्वाधार व्यवस्थापनमा भने विद्यालयलाई चुनौति हुने प्रधानाध्यापक अधिकारीको भनाइ छ ।