हेटौंडाः बालश्रममुक्त र सामाजिक विकृति तथा विसङ्गतिरहीत समाज निर्माण गर्न हेटौंडामा स्टीकर टाँसिएको छ । बालश्रम र सामाजिक विकृति तथा विसङ्गतिविरुद्व सन्देश लेखिएका १०५ थान स्टीकर टाँसिएको हो ।
हेटौंडा उपमहानगरभित्र रहेका होटल, ग्यारेज, सार्वजनिक यातायातहरुमा उक्त स्टीकर टाँसिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्टीकर टाँस गर्ने ७ दिने अभियानअन्तर्गत् पहिलो दिन हेटौंडा–१०, बसपार्कबाट उक्त अभियान सुरुवात गरिएको छ । महिला तथा बालबालिका सरोकार केन्द्र (पैरवी समूह) मकवानपुरको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा कार्यक्रम भएको हो । सामुदायिक प्रहरी उप–सेवा केन्द्र हेटौंडा बसपार्कको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत् उक्त अभियान सुरुवात गरिएको छ । महिला तथा बालबालिका सरोकार केन्द्रकी अध्यक्ष सरु विकको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा अभियान सुरु गरिएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको विशेष आतिथ्य थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख वामदेव गौतम, हेटौंडा—४ का वडाध्यक्ष नवीन सिग्देलको आतिथ्य रहेको थियो ।