नगर प्रमुख मीना कुमारी लामा । फाइल तस्वीर ।

हेटौंडाः पित्तथैलीमा पत्थरीको उपचारपछि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा काममा फर्कनु भएको छ । नगर प्रमुख लामा मंगलबार बिहानदेखि काममा फर्कनुभएको हो । चैत १२ गते आइतबार काठमाडौंस्थित ओम अस्पतालमा लेजर प्रविधिबाट पत्थरीको उपचार गराउनुभएकी लामा आइतबार हेटौंडा फर्कनु भएको हो । दुईदिन घरमै आराम गर्नुभएकी नगर प्रमुख लामा मंगलबार बिहान कार्यालय पुग्नु भई नगर प्रमुखहरुको एकेडेमीले आयोजना गरेको भर्चुअल कक्षामा सहभागी हुन भएको छ ।

हेटौंडा–२ स्थित सिद्धार्थ माविमा स्नातक तहमा कानुन विषय पठनपाठन गर्ने, हेटौंडा–४ स्थित भुटनदेवी माविमा स्नातक तहमा सिभिल इन्जिनियरिङ विषय पठनपाठन गर्ने, फोहर व्यवस्थापनको विषयमा कोरियाली टोलीसँग भेटवार्ता गर्न चैत ८ गते काठमाडौं पुग्नु भएकी नगर प्रमुख लामा तातोपानी पुगेर फर्किपछि स्वास्थ्यमा समस्या देखिएको थियो । आकस्मिकरुपमा स्वास्थ्यमा समस्या देखिएपछि नगर प्रमुख लामाले काठमाडौंस्थित ओम अस्पतालमा उपचार गराउनुभएको हो ।

अहिले स्वास्थ्य अवस्था सहज र सामान्य रहेको उल्लेख गर्नुहुँदै नगर प्रमुख लामाले भन्नुभयो, “नियमित काममा फर्किएको छु । चिकित्सकले सतर्कताका साथ काम गर्न र दुई साता आराम गर्न भनेबमोजिम बिस्तारै काममा फर्किएको छु ।” आफ्नो स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्णप्रति नगर प्रमुख लामाले आभार व्यक्त गर्नुभएको छ ।