हेटौंडाः काभ्रे, सिन्धुली र चितवन जिल्लामा भएका विभिन्न घटनामा सोमबार ४ जनाको मृत्यु भएको छ । काभ्रे जिल्लामा एक बालकको खोलामा डुबेर मृत्यु भएको छ भने सिन्धुलीमा एक वृद्धको आगोले पोलेर मृत्यु भएको छ । यता चितवनमा भने सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । काभ्रे जिल्लाको पाचँखाल नगरपालिका–११ को बाँसकोटे पोखरीमा १२ वर्षीय प्रयास तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तामाङ सोमबार बासँकोटे पोखरीमा पौडि खेल्ने क्रममा डुबेर ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, तीनघरेमा आगोले पोलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनघरेमा बस्ने ८२ वर्षीय बल बहादुर मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मगर सोमबार दिउँसो २ बजेको समयमा खरबारीमा लागेको आगो निभाउन गएकोमा ५ बजेर १५ मिनेटको समयमा आंशिकरुपमा जलेर घोप्टो परी मृत्त अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मगरको छेउमा निजले बोक्ने गरेको हँसिया र सुकेको स्याउला फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको तथा घटनास्थल मुचुल्का कार्यपश्चात शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकी खाङ्साङ् लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–३, चुम्लिङटारमा सवारी दुर्घटना हुँदा एकजना मृत्यु भएको छ । सोमबार ८ बजेको समयमा पृथ्वीराजमार्गमा चुम्लिङटारबाट धादिङ हुग्दीखोलातर्फ जाँदै गरेको बा ५६ प २९८३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई भित्तामा ठोकिँदा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने २४ वर्षीय अन्जन सिलवाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मोटरसाइकल आफै अनियन्त्रित भई भित्तामा ठोकिँदा सिलवाल गम्भिर घाइते भएका थिए । घाइते सिलवाललाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । सिलवालको उपचारको क्रममा बेलुका १० बजेर २५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–४, लेवटारमा सवारी दुर्घटना हुँदा एकजना मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको भारतीय नम्बर युपी ७० डीटी ६०५५ रहेको ट्याङकर आफैं अनियन्त्रित भई सडकछेउमा पल्टिँदा ट्याङकरमा सवार तनहुँ जिल्लाको व्यास नगरपालिका–१ घर भई हाल चितवन जिल्लाको भरतपुर महानगरपालिका–५, गीतानगर बस्ने ३४ वर्षीय सन्तोष खनालको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । ट्याङ्कर चालक भारत बरौनीका २९ वर्षीय राम बतन ताती घाइते भएका छन् । घाइते तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्याङकर नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।