हेटौंडाः ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी, प्रवचन र दीप प्रज्ज्वलन गरिएको छ । दिवसको अवसरमा सोमबार बिहान हेटौंडा–४ स्थित भुटनदेवी माविको खेलमैदानमा भेला भई सहकारी अभियन्ता, सहकारीका सञ्चालक, व्यवस्थापक, कर्मचारी, सदस्यहरुले हेटौंडा बजार क्षेत्रको परिक्रमा गरी हेटौंडा–२ स्थित पल्पसा सभागृहमा सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा जिल्लाका विभिन्न स्थानबाट सहकारीकर्मीको सहभागिता रहेको थियो । प्रभातफेरीमा हजारौंको सहभागिता रहेको थियो । प्रभातफेरीपछि आयोजित सभामा सहकारीकर्मीको प्रवचन कार्यक्रम रह्यो । प्रदेशस्तीय समिति गठन गरी राष्ट्रिय सहकारी दिवस मनाइएको थियो । सहकारी दिवस प्रदेशस्तरीय समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश दुग्ध सहकारी बोर्ड, विषयगत सहकारी संघका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
तीन दिवसीय सहकारी दिवसको पहिलो दिन शनिबार रक्तदान कार्यक्रम गरिएको थियो भने दोस्रो दिन आइतबार मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाइएको थियो । तेस्रो तथा अन्तिम दिन सोमबार बिहान प्रभातफेरी तथा प्रवचन र साँझ दीपावली गरी सहकारी दिवस समापन भएको छ ।