जनता घरदैलो कार्यक्रमको विषयमा जानकारी दिनुहुँदै स्वास्थ्य चौकी प्रमुख ढुंगेल (दायाँ) ।

हेटौडाः हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडामा स्वास्थ्य चौकीले सञ्चालन गरेको जनता घरदैलो कार्यक्रमबाट ७ सय ९० जना लाभान्वित भएका छन् । स्वास्थ्य चौकी प्रमुख तोयानाथ (टिएन) ढुंगेलका अनुसार ५ सय २७ महिला र २ सय ६३ पुरुष लाभान्वित भएका छन् ।

२ स्वास्थ्यकर्मी, २ सहयोगी, टोल विकास संस्थाका अगुवा र समाजसेवीहरुको सहयोगमा टोल–टोलमा गएर ५ दिन स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य चौकीले घरदैलो कार्यक्रममा १ सय १९ जनाको प्रोटिन जाँच, १५ जनाको पीएच जाँच र ६४ जनाको ग्लुकोज जाँच गरिएको छ । जनताको मृगौला जोगाऔं भन्ने अभियान लिएर घर–घरमा सेवा दिन पुग्दा आनन्दित भएको बताउनुहुँदै वडाका २३ वटा टोलमा पुगेर सेवा दिइएको ढुंगेलले बताउनुभयो ।

शुक्रबार स्वास्थ्य चौकीमा पत्रकार सम्मेलन गरेर जनता घरदैलो कार्यक्रमको प्रगति विवरण सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेलको पनि उपस्थिति रहेको थियो । स्वास्थ्य चौकीमा दैनिक २०/२५ जनाले नियमित सेवा लिन आउने गरेको ढुंगेलले बताउनुभएको छ ।