शनिबार बिहान रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । शनिबार बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । ३६ पिन्ट रगत संकलन भएसँगै रक्तसञ्चार केन्द्रलाई मागअनुसारको रगत वितरण गर्न केही सहज हुने रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटाको भनाइ छ ।

चैत महिनाको पहिलो दुई साता रक्तदान कार्यक्रम नहुँदा रगतको अभावको स्थिति आएको थियो । रगतको अभाव हुँदा रक्तसञ्चार केन्द्रले बोलाउँदा आउने रक्तदाता (अनकल डोनर) लाई रक्तसञ्चार केन्द्रमै बोलाएर रगत संकलन गर्ने गरेको छ । रगतको अभावकै कारण रक्तसञ्चार केन्द्रले एकैदिन २२ जनालाई केन्द्रमा बोलाएर रगत संकलन गरेको प्राविधिक सापकोटाले बताउनुभएको छ ।

रगतको अभाव भएको भन्ने समाचार सार्वजनिक भएपछि गत बुधबार हेटौंडा–११, थानाभर्याङस्थित नेपाल इकरात कम्पनिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बुधबार पनि ३६ जनाले रक्तदान गरेका थिए । यसैगरी यही चैत २५ गते मकवानपुरगढी गाउँपालिकास्थित जागरण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।