हेटौंडाः विश्व कविता दिवसका अवसरमा हेटौंडामा कविता साँझको आयोजना गरिएको छ । मंगलबार हेटौंडा–५, भैरवरोडमा रहेको किताब घरले कविता साझको आयोजना गरेको हो । कविता साँझमा १० जना कविले १/१ वटा कविता वाचन गर्नुभएको छ ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले उद्घोषण गर्नुभएको कार्यक्रममा कवि समर्पण न्यौपानेले अहंकारको आयु शीर्षकमा कविता वाचन गर्नुभयो । यस्तै, सानु खनालले अक्षरसँग, सुवास खनालले विकास, सुविज्ञा सुवेदीले तिमी कता हरायौ, स्वस्तिका दहालले श्रष्टा शीर्षकमा कविता वाचन गर्नुभयो । अनिता न्यौपानेले कठोरता, उमेश तिमल्सिनाले रिक्तता, कृतिका लौडारीले नारी भएकै कारण, मसान उपासकले मातृभूमि र शान्तिप्रिय वन्दनाले प्रश्न शीर्षकमा कविता वाचन गर्नुभयो ।
कवि घनश्याम घिमिरेले वाचित कविताको समीक्षा गर्नुभयो । उहाँले कवितामा व्यवहार, चिन्तन र चेतना हुने बताउनुभयो । तर कविहरुले अध्ययन गरेरभन्दा लहड, संगत र देखासिकीले कविता लेख्ने गरिएको बताउनुभयो । जसले गर्दा प्रायः व्यवहारिक कवितामात्र भएको जानकारी दिनुभयो । व्यवहारसँगै चिन्तन र चेतनाको कविता लेख्न अध्ययनशील कविको जरुरी हुन्छ ।