हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा हालसम्म ७३ जना थुनुवा रहेका छन् । विभिन्न मुद्धामा प्रहरीले थुनुवालाई हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिनुभयो ।
हिरासतमा एक सय जनाभन्दा धेरै थुनुवा राख्नसक्ने क्षमता भएको कार्कीले बताउनुभयो । हिरासतमा रहेका थुनुवामध्ये ७० प्रतिशत लागूऔषध मुद्धाका रहेका छन् । लागूऔषधको २० वटा मुद्धामा ४३ जना थुनुवा रहेको कार्कीको भनाई रहेको छ । लागूऔषध मुद्धामा प्रहरीले हिरासतमा ९० दिनसम्म थुनुवाको रुपमा राख्ने गरेको छ ।
यस्तै, कार्यालयमा रहेको थुनुवामध्ये चोरीको ३ वटा मुद्धा दायर भएको छ । यस्तै, जबरजस्ती करणीमा एक मुद्धा, आत्मदाहा दुरुत्साहनमा एक मुद्धा, सवारी ज्यानमा २ वटा मुद्धा, बाल यौन दुरुपयोगमा एक मुद्धा, अभद्र व्यवहारमा ७ वटा मुद्धा, ज्यान मार्ने उद्योगमा १ वटा र बैंकिङ कसुरमा १ वटा मुद्धा कार्यालयमा दर्ता भएको कार्कीले बताउनुभयो । विभिन्न मुद्धामा रहेका थुनुवामध्ये ५ जना महिला रहेका छन् । आत्मदाहको मुद्धामा एक जना र लागूऔषधको मुद्धामा ४ जना महिला रहेका छन् । पछिल्लो समय लागूऔषधको मुद्धा बढ्दै गएको छ । लागूऔषधको मुद्धा बढ्नुमा प्रहरीको सक्रियता धेरै रहेको कार्कीले बताउनुभयो ।
प्रहरीको सक्रियताबाट धेरै मानिसलाई नियन्त्रणमा लिन सफल भएको छ । मानिसहरुमा लागूऔषधसम्बन्धी कानुनी ज्ञानको अभाव हुनु, गरिबी, बेरोजगारी भएको कारणले गर्दा पनि लागूऔषधको मुद्धा बढ्दै गएको छ ।