विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा ।

हेटौंडाः हेटौंडा–११ सिमलटारस्थित शंकरज्योति आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । सोमबार विद्यालयको २७ औं अभिभावक भेलाको अवसरमा नवनिर्मित भवनको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले ७० लाख रुपैयाँको लागतमा निर्माण गरेको भूकम्प प्रतिरोधात्मक भवनको नगर प्रमुख लामाले उद्घाटन गर्नुभएको हो ।

नगर प्रमुख लामाले सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वाधारका हिसाबले सामुदायिक विद्यालय अव्बल देखिए पनि शिक्षाको गुणस्तरमा कम्जोर रहेको र सुधार आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले विद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावकलाई आग्रह गर्नुभयो । विद्यालयमा लिएको शिक्षासँगै आफुले पनि घरमा बालबालिकाको अवस्था, विचार र धारणाका बारे जानकार हुन आवश्यक रहेको उनको भनाइ थियो । विद्यालय गएका आफ्ना बालबालिकाको पढाईको अवस्था, साथी–संगतका कुरामा ध्यान दिन सकेमात्र बालबालिका अव्बल हुन सक्ने भन्नुहुँदै नगर प्रमुख लामाले अभिभावकहरु चनाखो हुन जरुरी रहेको बताउनुभयो । उपमहानगर शैक्षिक प्रणाली सुधारको पक्षमा रहेको भन्नुहुँदै उहाँले शिक्षक र अभिभावकको सकारात्मक भूमिका हुन आवश्यक रहेको बताउनुभयो ।

कक्षा ८ सम्मको अध्यापन हुने विद्यालयमा रहेको पुरानो कच्ची भवनहरु जिर्ण हुँदै गएसँगै भवन अभावका कारण समस्या हुँदै आएको थियो । करिब ५ सय विद्यार्थी रहेको विद्यालयमा अहिले पनि भवनको अभाव रहेको अभिभावक भेलामा प्रधानाध्यापक मुकुन्द न्यौपानेले जानकारी दिनुभयो । उहाँले पुराना भवन जीर्ण हुँदै गएकाले विद्यालयका लागि थप ८ कोठाको नयाँ पक्की भवन आवश्यक रहेको बताउनुभयो । प्रधानाध्यापक न्यौपानेले अभिभावक भेलामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार राप्ति किनारमा रहेको विद्यालयमा गर्मीको समयमा पानीको अभाव हुने उल्लेख छ । अभिभावक भेलामा प्रधानाध्यापक न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा १ करोड ११ लाख ३७ हजार बराबरको आयव्यय गरेको उल्लेख छ ।

अभिभावक भेलामा विद्यालयको पूर्वशिक्षक रामबहादुर थापालाई बिदाई गरेको छ भने उत्कृष्ट शिक्षकको रुपमा कविता गौतम, विन्दुसिं ठकुरी र सुशीला न्यौपानेलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर खुलालको अध्यक्षतामा भएको अभिभावक भेला तथा विद्यालय भवन उद्घाटनमा हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, विकास नेपाल, गीता सुनार, उपमहानगरका शिक्षा विकास अधिकृत रमेश बिडारी, टोल विकास सस्या वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कमलचन्द्र सुमनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।