नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु ।

हेटौंडाः नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा काभ्रे जिल्लाका दिल सुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ । बिहीबार हेटौंडामा भएको निर्वाचन कार्यक्रमबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय समिति चयन भएको हो । निवर्तमान अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ ।

उपाध्यक्षमा जिल्ला–नगरतर्फ गुणराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभयो भने एसोसिएट/बस्तुगततर्फको उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ निर्वाचित हुनुभयो । एसोसिएट/वस्तुगततर्फ अर्का आकांक्षी रामराज श्रेष्ठ निर्वाचनमा पराजित हुनुभयो । नवनिर्वाचित समितिको कार्यकाल ३ बर्षको हुनेछ । कोषाध्यक्षमा कविराज खत्री सर्वसम्मत चयन हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यमा जीवन काजि मकाजु श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, राजन कार्की, सन्त थापा, शिव प्रसाद मानन्धर, वीरेन्द्रनाथ भट्टराई, अनिल कृष्ण श्रेठ र प्रेम हरि मैनाली सर्वसम्मत चयन हुनुभएको छ ।

निर्वाचनअघि बुधबार प्रदेश समितिको अधिवेशन दिल सुन्दर श्रेष्ठको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेश अधिवेशनमा १३ जिल्लाका २८ वटा जिल्ला–नगर संघ तथा ७६ वटा एसोसिएसन र ९ वटा वस्तुगत संघका प्रतिनिधिको सहभागिता रहेको थियो ।