हेटौंडाः गाउँपालिकाले प्रदान गर्ने सेवाहरुमा सहज पहुँच नभएर बन्चितीमा परेका विकट भेगका बासिन्दाहरुलाई लक्षित गर्दै राक्सिराङ गाउँपालिकाले एकीकृत शिविरमा संचालन गर्ने भएको छ । फागुन २९ गते, चैत्र ६ गते, चैत्र १४ गते र चैत्र २२ गते गरी ४ दिन एकीकृत शिविरसंचालन गर्ने भएको हो ।

फागुन २९ गते वडा नम्बर ४ को कार्यालय, चैत्र ६ गते वडा नम्बर ९ को कार्यालय, चैत्र १४ गते वाड नम्बर ६, ७ र ८ को कार्यालय र चैत्र २२ गते वडा नम्बर १ र २ को कार्यालयमा एकीकृत शिविर संचालन हुने गाउँपालिकाले जनाएको छ । शिविरमा स्वास्थ्य सेवा, अपाङ्गता सम्बन्धी सेवा, अपाङ्गता परीक्षण र परिचयपत्र एवम् सहायक सामग्री वितरण, कृषि सेवा बीउ–बिजन/बोटबिरुवा, कृषि औजार, किटनाशक औषधि वितरण, निःशुल्क पशुसेवा, पशु जाँच, औषधि वितरण, व्यवसाय दर्ता तथा नवीकरण, योजनाको अनुगमन तथा भुक्तानी, गरिब परिवार परिचयपत्र वितरण, ज्येष्ठ नागरिक सेवा, विपद्, उद्दार सामग्री तथा राहत वितरण निःशुल्क गरिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पशु, रोजगार, लघु उद्यम, सहकारी, निःशुल्क परामर्श र सुरक्षा तथा गाउँपालिकाबाट प्रदान गरिने अन्य सेवासम्बन्धी जानकारी तथा परामर्श सेवा दिने गाउँपालिकाले जनाएको छ ।