शहीद परिवारलाई सम्मान गरिँदै ।

हेटौंडाः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको शहीद सप्ताह कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा १० शहीद परिवारलाई सम्मानपत्रसहित मायाको चिनो वितरण गरेको अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष सूर्य गोलेले जानकारी दिनुभयो ।

पार्टीले फाल्गुन १४ गते शहीद सप्ताह उद्घाटन गरेको थियो । साताभरी शहीद परिवारसँग भेटघाट गर्दै आइतबार शहीद सप्ताहको अन्तिम दिन समापन कार्यक्रम गरिएको छ । नेकपा मकवानपुरले जनयुद्ध र एकीकृत जनक्रान्तिका शहीदहरुको सम्मानसहित परिवारलाई सम्मानपत्र र मायाको चिनो वितरण गरेको हो ।

कार्यक्रममा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सीले शहीदप्रति उच्च सम्मान व्यक्त गर्नहुँदै दलाल सरकार जन्माउने संसदीय व्यवस्थाको सट्टा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरी शहीदका सपना साकार पार्ने उद्देश्य पार्टीले लिएको बताउनुभयो । पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा मकवानपुर जिल्ला सेक्रेटरी सूर्य सीको सभाध्यक्षता तथा जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य गुण सीलगायतको आतिथ्यता रहेको थियो ।