हेटौंडाः जेसीआई हेटौंडा लेडीले हेटौंडा–८, कमानेमा महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिएको छ । १ सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार कमानेस्थित एकता आमा समूहसँगको समन्वयमा तालिम दिइएको जेसीआई हेटौंडा लेडीकी महासचिव सरस्वती थिङ केसीले जानकारी दिनुभयो ।
महिलालाई महिनावारीका समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तालिम दिइएको महासचिव थिङले बताउनुभयो । घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड बनाउन तालिम दिइएको उहाँले जानकारी दिनुभयो । बजारमा पाइने प्याड प्रयोग गर्दा हुने खर्च कटौतीका लागि यसले मद्दत पुग्ने उहाँको भनाई छ । तालिममा करिब ३५ जनाको सहभागिता रहेको महासचिव थिङले बताउनुभयो । तालिममा दुर्गा क्षेत्रीले प्रशिक्षण दिनुभएको छ ।
जेसीआई हेटौंडा लेडी वर्ष २०२३ की अध्यक्ष जेसी दिलमाया घर्तीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राम थापाको प्रमुख आतिथ्यमा तालिम भएको हो । तालिममा ८ नम्बर वडाको जनप्रतिनिधि रीता मग्राती, विकासका लागि सामुदायिक जागरण नेपालका अध्यक्ष बबी थापा, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती संघ वडा नम्बर ८ अध्यक्ष अनिता थापालगायतको उपस्थिति रहेको थियो ।