हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आज सोमबारबाट गाउँपालिकास्तरीय अन्तरविद्यालय छात्रा फुटबल र शिक्षक फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा छात्रातर्फ ८ विद्यालयका टिमले र शिक्षकतर्फ ९ वटा वडाका टिमले सहभागिता जनाएको बकैया गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष विजय लामा थिङले जानकारी दिनुभयो ।
छात्रातर्फ बकैया–९ स्थित बाघभैरव मावि, वडा नम्बर ८ स्थित जनजागृति मावि, ५ नम्बर वडास्थित प्रभात मावि र कर्मप्राप्ति मावि, २ नम्बर वडास्थित कालिका मावि, ३ नम्बर वडास्थित बुद्ध मावि, ४ नम्बर वडास्थित महेन्द्र मावि र ६ नम्बर वडास्थित जनक माविले सहभागी हुनेछन् । बकैयामा रहेका अन्य ३ माविले भने प्रतियोगितामा सहभागिता नजनाएको अध्यक्ष लामाले बताउनुभयो ।
यस्तै, शिक्षक फुटबलतर्फ वडा नम्बर २ देखि १० सम्मले सहभागी हुनेछन् । १, ११ र १२ नम्बर वडाले प्रतियोगितामा सहभागिता नजनाएको लामाले बताउनुभयो । होली तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिताको उद्घाटन खेलमा २ नम्बर वडा र ९ नम्बर वडाका शिक्षक टिमबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।
सोमबार बिहान नै छात्रा फुटबलतर्फ बाघभैरव मावि र जनजागृति माविबीच प्रतिस्पर्धा हुनेछ । खेल बकैया–३, हात्तीसुँडेस्थित बुद्ध माविको खेल मैदानमा सञ्चालन हुनेछ ।
शिक्षक तथा छात्रा दुबैतर्फका विजेता टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल बुधबार हुनेछ । गाउँपालिकाले प्रतियोगिताका लागि २ लाख बजेट उपलब्ध गराएको छ । गत भदौमा गाउँपालिकाको खेलकुद विकास समिति अध्यक्षमा लामा नियुक्त भएपछि समितिले पालिकास्तरीय भलिबल, फुटबल प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । समितिले छिट्टै गाउँपालिकास्तरीय क्रिकेट प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, दौड प्रतियोगिता आयोजना गर्ने बताइएको छ ।