हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले बिहीबार मकवानपुर र रौतहटमा आयोजना गरेको निशूल्क आँखा शिविरमा ७४ जनामा मोतिविन्दुको समस्या पहिचान भएको छ । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–९, नामटारमा १ सय ७२ जनाको आँखा परीक्षण गर्दा १२ जना र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९, सन्तपुर मटिवनमा २ सय ३८ जनाको आँखा परीक्षण गर्दा ६२ जनामा मोतिविन्दु पहिचान भएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
यसअघि पहिलो दिन मंगलबार बारा र सिन्धुली जिल्लामा भएको निशूल्क आँखा शिविरमा ७३ जनामा मोतिविन्दु पहिचान भएको थियो भने दोस्रो दिन बुधबार सिन्धुली र सर्लाही जिल्लामा भएको निशुल्क आँखा शिविरमा थप ७६ जनामा मोतिविन्दु देखिएको छ । बुधबार सिन्धुली जिल्लाको हरीहरपुरगढी–३ स्थित पिपलमाढी स्वास्थ चौकीमा भएको आँखा शिविरमा २ सय ५० जनाको आँखा परीक्षण गर्दा ४० जनामा र सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–५, रानीगञ्जमा १ सय ३८ जनाको आँखा परीक्षण गर्दा ३६ जनामा मोतिविन्दु देखिएको छ ।
मोतिविन्दु पहिचान भएका विरामीलाई हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याई शल्यक्रिया गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निशूल्क आँखा परीक्षण शिविरको आयोजना गरिएको हो । रोटरी क्लबले तीन दिनमा मकवानपुरसहित, रौतहट, सिन्धुली र सर्लाही जिल्लामा शिविरको आयोजना गरेको थियो । शिविरमा मोतिविन्दु पहिचान भएका विरामीको शुक्रबारदेखि हेटौंडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गर्न सुरु गरिने जनाएको छ ।











