गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशका विभिन्न जिल्लामा भएको छुुट्टाछुट्टै घटनामा एकै दिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ, रसुवा, काभ्रे र दोलखा जिल्लामा सोमबार र मंगलबार भएका घटनामा ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–६, रुपाकोटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बद्रीटारबाट रुपाकोटतर्फ ढुङ्गा बोकी जाँदै गरेको बा प्र ३–००१ क ६४५६ नक्बरको टिपर निर्माणाधिन सडक भास्सिएर करिब २०० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा परी टिपर चालक धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–५, बद्रीटारका २९ वर्षीय सानोकान्छा तामाङको मृत्यु भएको हो । त्यस्तै टिपरमा सवार सहचालकसहित २ जना गम्भीर घाईते भएका छन् । उनीहरुको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–५ मा एकजनाको मृत्यु भएको छ । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–९ स्थायी घर भई हाल आमाछोदिङमो गुम्बामा मजदुरी काम गर्ने २५ वर्षीय धनसिं बिक काम गरिरहेको अवस्थामा अचानक छाति दुखेर उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । बिकको उपचारको क्रममा मंगलबार दिउँसो ४ बजेर ५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यता काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४, लामीडाँडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिरोकिलोबाट पाँचखाल जाँदै गरेको बा ५ ख ३४९४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा ८५ प ९०१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–७ का २९ वर्षीय गौतम तामाङ घाइते भएका थिए । उपचारका लागि धुलिखेल अस्पताल पुर्याउँदा डाक्टरले तामाङलाई मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले उल्लेख गरेको छ । मोटरसाइकलको पछाडि सवार १९ वर्षीया साँगी तामाङ मध्यम घाईते भएकी छिन् । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–२, डम्फामा एकजनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया सुनिता थामी रहेको प्रहरीले जानकारी दिएको छ । थामी सोमबार घाँस काट्न जान्छु भनी गएकी थिइन् । घर फर्केन नआएपछि खोजी गर्ने क्रममा सुनितालाई घरदेखि ५ सय मिटर पर पहरोको खोँचमा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।