हेटौंडाः हेटौंडाको हुप्रचौरस्थित भलिबल कोर्टमा प्यारापिट र चेन्जिङ रुम निर्माण हुँदैछ । हेटौंडा उपमहानगरपालिकाको १५ लाख रुपैयाँ बजेटबाट प्यारापिट र चेन्जिङ रुम बनाउन लागिएको मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त कुमार सिटौला बताउनुहुन्छ ।
फागुन महिना लागेसँगै निर्माण गर्न सुरु गरिएको प्यारापिट र चेन्जिङ रुम फागुन अन्तिमसम्ममा पूरा हुने अध्यक्ष सिटौला बताउनुहुन्छ । उपभोक्ता समितिमार्फत निर्माण भइरहेको प्यारापिटमा ४ सय दर्शकले बसेर भलिबल खेलको अवलोकन गर्न सक्नेछ । प्यारापिट निर्माणको कार्य सकिएपछि भलिबल कोर्टको पनि स्तरीकरण गरिने मकवानपुर जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
प्यारापिट निर्माण भएपछि दर्शकले सहजरुपमा खेल हेर्न सक्नेछन् । दर्शकको सहजताले उपस्थिति बढ्ने र खेलमा उत्साह थपिने अध्यक्ष सिटौलाको भनाइ छ । मकवानपुर जिल्ला भलिबल खेलका लागि उर्वर मानिन्छ । प्यारापिट र चेन्जिङ रुमसहित भलिबल कोर्टको स्तरीकरणसँगै मकवानपुर जिल्ला भलिबल संघ राष्ट्रिय महिला तथा पुरुष भलिबल आयोजना गर्ने तयारीमा रहेको छ ।
भलिबल प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भलिबल प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि थालेको जानकारी गराउनुहुँदै अध्यक्ष सिटौलाले भन्नुभयो, “हामी पुरुष र महिला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्छौं । यस पटक हेटौंडा उपमहानगरपालिकाले राम्रो बजेट विनियोजन गरेको छ । केही अपुग बजेट हामी जुटाएर प्रतियोगिता आयोजना गर्छौं ।”