हेटौंडाः मकवानपुरगढी गाउँपालिका–१ मा गरिबी निवारणका लागि लघुउद्यम विकास अभिमुखीकरण कार्यक्रम भएको छ । सोमबार मकवानपुरगढी गाउँपालिका लघुउद्यम विकास शाखाको आयोजनामा एक दिने वडास्तरीय लघुउद्यम विकास अभिमुखीकरण कार्यक्रम भएको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत तथा लघु उद्यम विकास कार्यक्रमका संयोजक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा वडाका लघुउद्यमीहरुलाई स्वरोजगार, रोजगार, साना उद्योगमा पहुँच बढाउने उद्देश्यले अभिमुखीकरण गरिएको चौधरीले बताउनुभयो । त्यस्तै अभिमुखीकरण कार्यक्रमबाट वडा नम्बर १ र २ गरी ८५ जना नयाँ लघुउद्यमीहरु छनोट गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा लघुउद्यम विकास सहजकर्ता सीता बुढाथोकी र प्रतिमा डाँगीले सहजीकरण गर्नुभएको थियो । मकवानपुरगढी गाउँपालिकाको १ नम्बर वडा अध्यक्ष आइत सिंह लोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्यहरु, टोल विकास संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।