सांकेतिक तस्बीर ।

हेटौंडाः यही फागुन १८ गते बिहिबारदेखि हेटौंडा–काठमाडौं कान्तिलोकपथको मर्मत सम्भारका लागि दुईतर्फी आवागमन बन्द हुनेभएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले कान्तिलोकपथमा फागुन १८ गतेदेखि चैत १० गतेसम्म दुवैतर्फबाट सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो । कान्तिलोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

यसअघि फागुन १ गतेदेखि हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं र हेटौंडा–भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं जोड्ने सडक मर्मतका लागि २ महिना बन्द गरिएको थियो । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरिको यि दुई सडक बन्द भएपछि कान्तिलोकपथलाई वैकल्पिक मार्गको रुपमा काठमाडौंबाट हेटौंडा फर्कन प्रयोग गर्न दिने निर्णय भएको थियो ।