औषधी व्यवसायी संघ मकवानपुरले शुक्रबार जारी गरेका प्रेस विज्ञप्ति ।

हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरको भोलि हुने भनिएको छैठौं वार्षिक साधारणसभा तथा अधिवेशन स्थगित भएको छ । संघका कार्यवाहक अध्यक्ष नारायणलाल श्रेष्ठले प्राविधिक कारण जनाउँदै शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी साधारणसभा तथा अधिवेशन स्थगित भएको जानकारी गराउनुभएको छ ।

प्राविधिक कारण भने पनि के कारण भन्ने स्पष्ट खुलाइएको छैन । साधारणसभा आयोजना हुनुभन्दा एकदिन अघि शुक्रबार बिहान बसेको कार्यसमिति बैठकले संघको आन्तरिक कारणले साधारणसभा स्थागित गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । अधिवेशन स्थगित भएको विषयमा स्थानीय प्रशासन र निर्वाचन समितिलाई पनि जानकारी गराइएको श्रेष्ठले बताउनुभयो । आगामी साता कार्यसमितिले सल्लाहकारसँग समेत परामर्श गरेर आन्तरिक समस्या समाधान गरी साधारणसभा तथा अधिवेशनको नयाँ मिति तय गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।