सम्झौतापछि सामुहिक फोटो खिचाउँदै ।

हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकामा आउँदो चैतको अन्तिम सातादेखि सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालनका लागि बिहिबार तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठ र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार केन्द्रलाई आवश्यक पर्ने मेडिकल उपकरण प्रतिष्ठानले उपलब्ध गराउने हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रमा सम्पुर्ण किसिमको आँखा जाँच र चस्मा जाँच हुने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । कैलाश–३ कालिकाटारमा रहने आँखा केन्द्रमा १ जना नेत्र सहायकसहित ३ जना कर्मचारी रहने उहाँले बताउनुभयो । चैत अन्तिम साता कालिकाटारमा बृहत आँखा शिविर गरेर केन्द्रको उद्घाटन गर्ने तयारी रहेको उहाँको भनाई छ ।

अहिलेसम्म कैलाशमा आँखा सम्बन्धी उपचार गर्ने स्वास्थ्य केन्द्र नभएको अवस्थामा केन्द्रको स्थापना पछि कैलाशका स्थानीयका साथै राक्सिराङ गाउँपालिकाका नागरिकले समेत सेवा प्राप्त गर्ने अध्यक्ष मुक्तानले बताउनुभयो । हाल पालिका भवनसँगै निर्माण भैरहेको अस्पतालको निर्माण कार्य सकिएपछि आँखा केन्द्रलाई सोहि अस्पतालबाट सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।