खेलकुद महोत्सव उद्घाटन समारोहमा सहभागी अतिथि ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको तीनदिवसीय खेलकुद महोत्सव (एचएसएम एथ्लेटिक मिट–२०२३) बुधबार बिहानबाट सुरु भएको छ । म्यानेजमेन्टको २५ औं स्थापना दिवसको अवसर समेत पारेर कक्षा ११ र १२, स्नातक र स्नात्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीबीच एथ्लेटिक्सका खेलको आयोजना गरेको हो ।

खेलकुद महोत्सव उद्घाटन समारोहमा मार्चपासमा सहभागी विद्यार्थीहरु ।

बुधबार बिहान हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको छ । हेटौंडा–४, हुप्रचौरमा विद्यार्थीले बुधबार बिहान मार्चपास समेत गरेका छन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा अध्ययनरत ३ हजार भन्दा बढी विद्यार्थी मार्चपासमा सहभागी थिए ।

नियमित शिक्षासँगै खेलकुदका क्रियाकलापले विद्यार्थीमा शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभावका पार्ने उल्लेख गर्नुहुँदै प्रिन्सीपल जोशीले वार्षिकरुपमा खेलकुद महोत्सवको आयोजना गर्ने घोषणा पनि गर्नुभएको छ । म्यानेजमेन्टले १३ वर्षपछि खेलकुद महोत्सव आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, निमित्त कार्यालय प्रमुख माधव कोइरालाको पनि आतिथ्य रहेको थियो ।