हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समितिको निर्वाचन आइतबार प्रदेश राजधानी हेटौंडामा सम्पन्न भएको छ । प्रत्यक्षतर्फ ११ जना सदस्य चयनका लागि भएको निर्वाचनमा २७ जना आकांक्षी थिए । प्रदेश समितिमा ८ जना महिला र ३ जना पुरुष प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाअनुसार आइतबार निर्वाचन भएको हो ।
आइतबार साँझ सम्पन्न मतगणनाअनुसार महिलातर्फ स्वस्तिका लामिछाने, प्रतिमा कँडेल, जीता बराल, राधिका तिमल्सिना, पुष्पा तामाङ, निर्मला गिरी, सत्या अधिकारी र पूण्य माता घिमिरे प्रदेश समिति सदस्य निर्वाचित हुनुभएको छ । यस्तै पुरुषतर्फ उत्सव अर्याल, राजन अर्याल र नूरमान निर्वाचित हुनुभएको छ । कुल २ सय ९३ मत खसेकोमा २ सय ८६ मत सदर भएको थियो ।
यसअघि प्रदेशका १३ जिल्लाबाट प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक÷एक जनाका दरले ६६ जना प्रदेश समिति सदस्य चयन भइसकेको प्रदेश समिति सदस्य वीरेन्द्र थापाले जानकारी दिनुभएको छ । पार्टीको प्रदेश समितिमा प्रत्यक्ष र जिल्लाबाट सिफारिस भएर आएका सदस्य गरी ७७ जनाको सभाले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र प्रवक्ता एक–एकजना रहने व्यवस्था छ ।
प्रदेश समितिको सभापतिले ३ जना सदस्य मनोनित गरेपछि प्रदेश समिति ८० सदस्यीय हुनेछ । निर्वाचनका लागि पार्टीको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु हेटौंडा आइपुगेका थिए । यसअघि सूदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा रास्वपाले प्रदेश तहको निर्वाचन गरिसकेको भने प्रदेश नम्बर १ मा फागुन ९ गते र मधेश प्रदेशमा फागुन १३ गते प्रदेश समिति गठनका लागि निर्वाचन हुनेछ ।











